भरतपुर महानगरपालिका वडा नं. २ मा रहेको जलदेवी सामुदायिक वन उपभोक्ता समुहले नेपालमै सामुदायिक वनहरुमा पहिलो पटक जिपलाइन साहसीक खेल शुरु गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लक्षित गरी यो खेल शुरु गर्न लागिएको हो । सामुदायिक वन र यसका उपभोक्ताहरुकै लगानी करीब ७० लाखको लागतमा जिपलाइन निर्माण भैरहेको छ । नेपाल कै तेस्रो पर्यटकिय गन्तव्य चितवनको सौराहा आउने आन्तरीक तथा बाहिय पर्यटकहरु ओहोर दोहोर गर्ने मुख्य बाटोमा यो जलदेवी सामुदायिक वन पर्ने भएको सौराहा आउने पर्यटकलाई थप मनोरञ्जन दिन यो साहिसक खेलले महत्वपुर्ण भुमिका खेल्ने सरोकारवाला व्यक्तिहरु बताउंछन् ।स्थानीय समुदाय र प्राइभेट कम्पनीको सहयोगमा निर्माण गर्न लागिएको जिपलाइनले यस क्षेत्र युवा युवतीलाई प्रत्यक्ष रोजगारीको व्यवस्था गर्न सकिने वन उपभोक्ता समितिका अध्यक्ष केशव बहादुर थापा निरुले जानकारी दिए । यसले वन क्षेत्र वरपर बसोबास गर्ने विपन्न समुदायको जिवनस्तर सुधारिने विश्वास गरिएको छ । युवाहरुलाई स्वरोजगार बनाउदै पर्यटन बर्ष २०२० लाई सफल बनाउनको लागि सामुदायिक वनको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत लगानीमा जिप लाइन निर्माणको काम भएको हो । जिप लाइनबाट आउने कुल नाफा बापतको १० प्रतिशत रकम वनलेनै प्रयोग गर्ने अध्यक्ष थापाको भनाई छ । सामुदायिक वन भित्र निर्माण भैरहेको एक हजार पचास मिटर लामो जिपलाइनमा वच्चा, युवा, वयस्क र ६५ वर्ष सम्मका व्यक्तिहरुले खेल्न सक्ने साहसीक खेलले खासगरी आन्तरीक पर्यटकको आकर्षण बढ्ने विश्वास लिएको छ ।फ्रान्सको प्रविधि प्रयोग गर्न लागिएको जिपलाइन शतप्रतिशत सुरक्षित हुने वाइल्ड वण्डर्स नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक राजकुमार श्रेष्ठले बताए । दैनिक तीन सय भन्दा बढीले सेवा लिनसक्ने सञ्चालक श्रेष्ठले बताए । हाललाई टिकट मुल्य ५०० तोकिएको श्रेष्ठको भनाइ छ ।फलामको डोर मा घिर्नी जोडेको हुन्छ । त्यही घिर्नीमा विशेष प्रकारको फितामा झुण्डिएर पर्यटक माथिबाट तल झर्छन् । हावाको वेगमा प्रकृतिको आनन्द लिनका लागि यो खेल अति महत्वको छ । वन वन्यजन्तुलाई कुनै पनि किसिमको नकारात्मक प्रभाव नपर्ने र उर्जाको प्रयोग विना नै साहसीक खेलको आनन्द लिन सकिने संरक्षणकर्मीहरु बताउंछन् ।